Latest News

उपत्यकामा केन्द्र निर्धारण - Nepal Samacharpatra

Apr 10, 2012

ईश्वरराज ढकाल, (काठमाडौं), कक्षा १२ को प्रश्नपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द लिमिटेडभित्र तीनघेरे सुरक्षाबीचमा संचार सम्पर्कबाट समेत बिच्छेद रहेको उच्च माध्यमिक शिक्षा परिषद्का कामु परीक्षा नियन्त्रक दुर्गा अर्यालले परीक्षा केन्द्र तयारी कसरी बाहिर पठाउनुभयो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ।

उपत्यकाबाहिरका जिल्लाका केन्द्र निर्धारण गरी चैत १ गते केन्द्रको सुरक्षण मुद्रणालयभित्र पस्नुभएका उहाँले पाँच दिनअघि उपत्यकाको केन्द्र निर्धारण गरी काठमाडौं कार्यालयललाई पठाएपछि उहाँको नियतिमै प्रश्नचिन्ह उठेको छ। परिषद्ले परीक्षा केन्द्रसम्बन्धी सूचना वेबसाइटमा सोमबार राखेपछि सो केन्द्रसम्बन्धी निर्णयलाई परीक्षा नियन्त्रक अर्यालले कसरी बाहिर ल्याउनुभयो भनी प्रश्न उठेको हो। परीक्षा केन्द्र निर्धारणसम्बन्धी सूचना दैनिक पत्रिकामा २० दिनअगावै प्रकाशन गर्नुपर्ने विनियमावलीमा भए पनि परिषद्ले वेबसाइटमा मात्रै प्रकाशन गरेको छ।

परिषद्का उपाध्यक्ष अध्यक्ष रहेको केन्द्रीय परीक्षा निर्धारण समितिले प्रश्नपत्र छाप्न मुद्रणालयमा जान तयार भएका कामु परीक्षा नियन्त्रक अर्याललाई केन्द्र निर्धारण गर्ने अधिकार दिएको थियो। परिषद्का उपाध्यक्ष डा. हेमकुमार मिश्रले काठमाडौंको केन्द्र निर्धारण गर्ने अधिकार कामु नियन्त्रकलाई दिएको बताउँदै जिल्ला परीक्षा समितिको निर्णयअनुसार केन्द्र निर्धारण गरिएको जिकिर गर्नुभयो। प्रश्नपत्र छपाइ गर्न गोप्य स्थानमा गए तापनि सुरक्षा निकायको सहयोगमा आवश्यक परेको खण्डमा कामु नियन्त्रक बाहिर आउन सक्ने बताउँदै उहाँले भन्नुभयो- 'यस काममा कुनै गलत भएको छैन।’ तर प्रश्नपत्र छपाइ गर्न केन्द्रभित्र बसेका नियन्त्रक बाहिर निस्कन नमिल्ने बताउँदै स्रोतले नेपाल समाचारपत्रसँग भन्यो- 'संवेदनशील विषयमा कसरी बाहिर आउन मिल्छ’

तर परिषद्का कामु नियन्त्रक अर्यालले भने आफ्ना सहयोगीसँग पटकपटक सम्पर्क गरी केन्द्रको सिफारिस गरेको स्रोतले बतायो। जनक शिक्षा केन्द्रका प्रवक्ता मनोहर लामिछानेले प्रश्नपत्र छपाइ अवधिभर परीक्षा नियन्त्रक बाहिर निस्कन र अन्य कोहीसँग भेटघाट गर्न नमिल्ने बताउँदै यस विषयमा आफूले जानकारी लिने बताउनुभयो।

गत वर्ष पनि कामु परीक्षा नियन्त्रक अर्यालको यस्तै व्यवहारका कारण कक्षा १२ का चारवटा विषयको प्रश्नपत्र आउट भएको थियो। परीक्षाअगावै फिजिक्स कम्प्युटर साइन्स र होटल मेनेजमेन्टको प्रश्नपत्र आउट भएपछि ती सबै विषयको पुनः परीक्षा साचालन गरिएको थियो। कामु नियन्त्रक अर्यालकै गम्भीर त्रुटिका कारणबाट प्रश्नपत्र आउट भएको बताउँदै उच्च मावि शिक्षक संघ नेपाल हिस्टान का अध्यक्ष दीपक सुवेदीले परीक्षा नियन्त्रक गम्भीर नहुँदा यस्तो समस्या आएको बताउनुभयो। उहाँले काठमाडौंको केन्द्र कायम गर्दा कामु नियन्त्रक अर्यालले जनक शिक्षाको प्रेसबाटै केन्द्र तोकिपठाएको विषय गम्भीर भएको बताउँदै त्यस्तो अवस्था हो भने तत्काल छानबिन गर्नुपर्ने उल्लेख गर्नुभयो।

गत वर्ष प्रश्नपत्र आउट भएको विषयमा छानबिन गर्न बनेको ५ सदस्यीय समितिले कामु नियन्त्रक अर्याललाई दोषी देखाउँदै प्रतिवेदन बुझाएको थियो।

हामीले प्रतिवेदन बुझायौं तर परिषद्ले कारबाही गर्ने विषयमा कुनै चासो देखाएन छानबिन समितिमा रहनुभएका हिस्टानका अध्यक्ष सुवेदीले भन्नुभयो दोषीमाथि कारबाही नगर्ने परिषद्ले केही गर्न सकेन। सो विषयको फाइल परिषद्का उपाध्यक्षसँग भएको अवस्थामा हालसम्म कारबाही प्रकि्रया अघि बढ्न सकेको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सो विषयमा परिषद्लाई ध्यानाकर्षण गराएको थियो।


प्रश्नपत्र छपाइ गर्न जनक शिक्षा गएका कामु नियन्त्रक अर्याल नआउन्जेलसम्मका लागि निर्मल पाण्डेलाई परीक्षाको सम्पूर्ण काम गर्न जिम्मेवारी दिएको थियो। तर कामु नियन्त्रक अर्यालले परिषद्का उच्च पदाधिकारीको सहयोगमा आर्थिक चलखेल गरी एक्लैले केन्द्र निर्धारण गरी सिफारिस गरेको स्रोतले जनाएको छ। केन्द्र सिफारिस गर्ने जिम्मा पाएका काठमाडौं सम्पर्क कार्यालयका प्रमुख जंगबहादुर अर्यालले कामु परीक्षा नियन्त्रक दुर्गा अर्यालले केन्द्र कायम गरी पठाएपछि परिषद्ले सम्पर्क कार्यालयमा पठाएको बताउनुभयो।

उहाँले भन्नुभयो केन्द्र त उतैबाट आयो यस विषयमा मलाई केही जानकारी छैन। परिषद्को बारेमा लगातार नेपाल समाचारपत्रले समाचार प्रकाशित गरेपछि काठमाडौं कार्यालयले केन्द्र निर्धारण गर्न भनी जिल्ला परीक्षा समितिसँग आग्रह गरेको थियो। चार दिनअघि बसेको समितिको बैठकले कामु परीक्षा नियन्त्रक अर्यालले काठमाडांै कार्यालयलाई सिफारिस गरी पठाएको केन्द्रलाई स्वीकृत गरेको थियो। समितिका अध्यक्ष एवम् काठमाडौंका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेको कार्यकक्षमा बसेको बैठकमा केन्द्र निर्धारण गर्दा परिषद्ले मनोमानी गरेको गुनासो आएको विषय उठेको थियो। परिषद्ले आगामी वर्षदेखि सुधार गर्दै लैजाने जनाएको थियो। समितिका सदस्य सचिव एवम् काठमाडांैका जिल्ला शिक्षा अधिकारी वैकुण्ठ अर्यालले परिषद्ले सिफारिस गरेको केन्द्रको बारेमा अध्ययन गरी सिफारिस गरेको बताउनुभयो।

Source : Nepal Samacharpatra