Latest News

शैक्षिक संस्था आज पनि बन्द - Nagarik News

Feb 28, 2012

काठमाडौँ, फागुन १५ - शिक्षकले आफ्ना माग पूरा नभएको भन्दै जारी राखेको शैक्षिक संस्था बन्दको कार्यक्रमलाई आज पनि निरन्तरता दिएका छन्। आइतबारदेखि सुरु भएको शैक्षिक संस्था बन्द कार्यक्रम आफ्ना माग सम्बोधन नभएसम्म जारी राखिने र शिक्षण संस्था पुनः रूपमा बन्द गरिने नेपाल शिक्षक युनियनका अध्यक्ष दिलबहादुर जोशीले जानकारी दिनुभयो।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, शैक्षिक गणतान्त्रिक मञ्च, नेपाल शिक्षक युनियनलगायत शिक्षक सङ्गठनले विभिन्न ३५ सूत्रीय माग राख्दै तीन महिनादेखि आन्दोलन गरिहेका छन्।उनीहरूले पटकपटक सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने, अस्थायी शिक्षकलाई प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्ने, राहत कोटालाई दरबन्दीमा बदल्नुपर्ने, विद्यालयका कर्मचारीलाई दरबन्दी सहित सेवासुविधा सुनिश्चित गर्नुपर्ने, राजनीतिक आस्थाका आधारमा निष्काशित शिक्षकलाई पुनःबहाली गर्नुपर्ने, अनिवार्य तथा निःशुल्क शिक्षाको सुनिश्चतिता गर्नुपर्ने, स्तरीय शिक्षाको प्रत्याभूति गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

आइतबार शिक्षकको आन्दोलनमा सरकारी दमन भएको भन्दै उनीहरूले थप सशक्त आन्दोलनको घोषणा गर्ने समेत जनाएका छन्।


Source : Nagarik News