Latest News

'एउटै प्रश्नपत्र २ लाखसम्ममा बिक्री' - ekantipur

Aug 14, 2012

भक्तपुर, श्रावण ३० - प्राविधिक शिक्षा अध्ययन गराउन लिएको प्रवेश परीक्षाको प्रश्नपत्र सीटीईभीटीकै पदाधिकारी/कर्मचारीको मिलेमतोमा एक प्रतिको दुई लाख रुपैयाँसम्ममा बिक्री गरिएको खुलासा भएको छ । विवाद सार्वजनिक भएपछि शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिलाई 'मिलेमतोमा प्रश्नपत्र बिक्री भएको' बयान सम्बद्ध कर्मचारीले नै दिएका हुन् ।

निजी कलेजका संस्थापक र कर्मचारीका हातमा परीक्षाअघि नै प्रश्नपत्र र उत्तरको 'सेट' पुगेको सीटीईभीटीका कर्मचारी तेजकुमार पुलामीले छानबिन समितिलाई बयान दिएका हुन् । नतिजा प्रकाशन गर्न इटहरी गएका सीटीईभीटी कर्मचारी संघका अध्यक्ष राजु खड्काले प्रश्नपत्रको साथमा उत्तरसमेतको सेट फेला पारेका थिए । खड्काले पुलामीको हातबाट इटहरीको गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि सेट नै पाएको बताएका छन् । पुलामीको बयान भने बेग्लै छ । उनको बयानमा निजी कलेजका कर्मचारी र संस्थापकबाट प्रश्नपत्र पाएको उल्लेख छ ।

'सीटीईभीटीको इटहरी कार्यालयका पुष्पराज ढकालको ग्यारेन्टीमा साउन ५ गते दिउँसो त्रिवेणी टेक्निकल एकाडेमीका संस्थापक भविन खड्काले दुई लाख तिर्ने सर्तमा उपलब्ध गराएको हो,' पुलामीले समितिलाई दिएको बयानमा भनेका छन्, 'यस्तो कार्यमा सुषमा कोइराला मेमोरियल इन्स्िटच्युट इटहरीका कर्मचारी अम्बिका गुरागाईं र पिपुल्स नर्सिङ कलेज इटहरीमा कार्यरत कर्मचारी नीरज कटुवाल संलग्न छन् ।' समितिले पुलामीसँग साउन ७ मा बयान लिँदा प्रश्नपत्र बाहिरिएको जानकारी नभएको बताए पनि उनले साउन २५ मा काठमाडौंमा पुनः बयान दिँदा स्वीकार गरेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रश्नपत्र बाहिरिएको खबर राजु खड्काबाट आएपछि समितिले उनको 'कल डिटेल' समेत लिएको थियो । 'राजुले सबैभन्दा बढी पुलामीसँग सम्पर्क गरेको देखियो,' प्रतिवेदनमा छ । प्रश्न पत्र तयारीदेखि केन्द्रसम्म पुर्‍याउने काममा सीटीईभीटीका दुई कर्मचारी मात्रै संलग्न भएको पनि प्रतिवेदनमा उल्लेख छ । प्रश्नपत्र सेटिङ, मोडरेसन, कम्प्युटर टाइप, छपाइ, प्याकिङ र वितरण व्यवस्थामा परीक्षा महाशाखाको गोप्यमा शाखाका वरिष्ठ प्रशासन अधिकृत श्रीधर नेपाल र प्रशासन अधिकृत हरि सत्याल संलग्न थिए । प्रश्न स्युचाटारस्थित निजी छापाखाना पि्रन्टिङ स्पटमा छापिएको हो ।

साउन ५ र ६ गतेको परीक्षामा अनियमितता भएको समितिले बयान लिएकाहरूबाट पुष्टि भएपछि सीटीईभीटी परीक्षा समितिको बैठकले परीक्षा नै रद्द गरिसकेको छ । नयाँ तालिकाअनुसार अब भदौ ९ गते परीक्षा लिएर १४ गते नतिजा सार्वजनिक हुनेछ । मन्त्रालयको शैक्षिक जनशक्ति केन्द्रका प्रमुख सूर्यप्रसाद गौतम संयोजक रहेको छानबिन समितिले गत शुक्रबार प्रतिवेदन बुझाएको हो ।

'प्रश्नपत्र तयारीदेखि छाप्ने र वितरणसम्मका काममा दुई जना मात्रै संलग्न छन्,' कान्तिपुरलाई उपलब्ध प्रतिवेदनमा भनिएको छ, 'उपत्यका बाहिरको परीक्षा केन्द्रमा बुद्ध एयरको कार्गोमार्फत प्रेसबाटै सोझै पठाउने गरिएको र उपत्यकाभित्र गोप्य शाखाका कर्मचारीसहित अन्य परीक्षा केन्द्रमा खटिएका कर्मचारीले परीक्षाकै दिन प्रेसबाट सोझै केन्द्रमा पुर्‍याएको पाइएको छ ।'

सीटीईभीटी मोरङका कर्मचारी भूपाल गिरीले विराटनगरबाट धनकुटा लगेको प्रश्नपत्र पोकाको कार्टुन खोलेको अवस्थामा फेला परेको थियो । तुलसीमेहर उच्च माध्यमिक विद्यालय केन्द्र धनकुटामा बाह्य सुपरिवेक्षक जाँचबहादुर लिम्बुले प्रश्नपत्र कार्टुनमा नभएको समितिलाई बताएका छन् । 'साउन ४ गते गिरीले प्रश्नपत्र विराटनगरबाट लिएर आउनु भएको हो । कागजको खाममा सिलछाप भए पनि धनकुटा आइपुग्दा प्रश्नपत्र कार्टुनमा थिएनन्,' उनको बयानमा उल्लेख छ ।

तर प्रश्नपत्र बाहिरिएको चर्चा चले पनि जिम्मेवार अधिकारीले बेलैमा यसलाई सम्बोधन गर्नुको सट्टा बेवास्ता गरेको देखिन्छ । उपाध्यक्ष गोपाल खनालले परीक्षा अवधिमा आफू राष्ट्रपतिको कार्यक्रममा भएको बयान दिएका छन् । परीक्षा समितिको अध्यक्षसमेत रहेका उनले व्यवस्थापनको कमजोरी भएको आरोप लगाएका छन् । सदस्य सचिव जयबहादुर टन्डनले भने व्यवस्थापनको बचाउ गरेका छन् । प्रश्न बाहिरिएकै दिन उनलाई जानकारी भए पनि उनले पनि कुनै चासो देखाएको पाइँदैन ।

आरोप/प्रत्यारोप चले पनि परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएको जानकारी हुँदाहुँदै पनि परीक्षा समितिको बैठक तीन दिनपछि आठ गते मात्र बसेको थियो । 'बैठक ढिलो बस्नु, परीक्षा समितिका अध्यक्ष खनाल बुटवलको कार्यक्रम सकिएपछि कार्यालय आउनुको सट्टा कावासोतीस्थित घरमा बस्नुले सबै कुरा छर्लंग हुन्छ,' शिक्षा मन्त्रालयका एक अधिकारीको आरोप छ । खनाल नभएकैले तीन दिनपछि मात्रै बैठक बसेको थियो । सम्बन्धित शंकास्पद प्रहरी कार्यालयमा भने प्रश्नपत्रै नराखिएको समितिले फेला पारेको छ ।

Source : ekantipur