Latest News

ग्यास, किराना पसल र डिपार्टमेन्टर स्टोर अनुगमन - ekantipur

Jul 20, 2012

काठमाडौं, श्रावण ५ - वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले बिहीबार काठमाडौंको जडिबुटी र ललितपुरको बालकुमारीका ग्यास डिपो र किराना पसल अनुगमन गरेको छ ।

अनुगमनमा बालकुमारीको सिद्धार्थ ग्यास डिपो र जडिबुटीको जोशी किराना स्टोर, साल्ट ट्रेडिङ कर्पोरेसनको ग्यास गोदाम र सगरमाथा ग्यास गोदाम परेका छन् । 'मूल्यसूची नराखेको, ग्यास तौल्ने उपकरण नभएको, व्यवसाय दर्ता र प्रमाणपत्र नवीकरण नगरिएको र खाली सिलिण्डरको तौल बढी पाइएको,' अनुगमनमा पाइएको कैफियतका सम्बन्धमा विभागको विज्ञप्तिमा उल्लेख छ ।

विभागले सिद्धार्थ ग्यासलाई व्यवसाय दर्ता नवीकरण गरी ३ दिन भित्र पेस गर्न र ग्यास तौलन नयाँ डिजिटल उपकरण खरिद गर्न निर्देशन दिइएको । विभागले जोशी किराना स्टोरलाई ३ दिनभित्र मूल्य सूची राख्न र ७ दिनभित्र नापतौलको प्रमाण लिइ पेस गर्न निर्देशन दिएको छ ।

विभागले सगरमाथा ग्यासलाई ७ दिनभित्र ग्यास तौलने डिजिटल तराजु खरिद गरी गुणस्तर तथा नापतौल विभागबाट त्यसालाई प्रमाणित गराउन र तौल बढी पाइएका खाली सिलिण्डर सफा गर्न निर्देशन दिएको छ ।

विभागका तर्फबाट संयुक्त अनुगमन टोलीको संयोजकत्व शाखा अधिकृत विष्णुप्रसाद रेग्मीले गरेका थिए ।

विभागले बुधबार महाराजगञ्जस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर र मण्डिखाटारस्थित ग्लोवल कलेजको क्यान्टिन अनुगमन गरेको थियो । विभागले भाटभटेनीलाई लेबल नभएका सामान विक्री वितरण गरेको सम्बन्धमा ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । भाटभटेनीलाई  खरिद विल र विक्री विलको कम्तीमा १५ वस्तुको प्रतिलिपि पेश गर्न पनि निर्देशन दिएको छ । लेखा अधिकृत टीकाबहादुर थापाको संयोजकत्वमा गएको संयुक्त अनुगमन टोलीले भाटभटेनीबाट १ लिटरको २ बोतल फेन्टा,१ लिटरको १ बोतल कोक र १ लिटरको १ बोतल नष्ट स्प्राइटसमेत नष्ट गरेको छ ।

विभागले ग्लोवल कलेजको क्यान्टिनलाई त्यहाँ उत्पादित बस्तु बिक्री विरतण गर्न रोक लगाएको छ । खाद्य अनुज्ञा पत्र नलिएसम्म र लेबलमा खुलाउनु पर्ने कुराहरू नखुलाएसम्मका लागि विभागले त्यस्तो रोक लगाएको हो । विभागले ग्लोबल कलेजसँग त्यस विषयमा ७ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

Source : ekantipur