Latest News

डलर मूल्य ९०.०४ रुपैयाँ (उद्योगीको जोखिम बढ्यो) - ekantipur

May 31, 2012

काठमाडौ, जेष्ठ १८ - अमेरिकी डलरले फेरि नयाँ रेकर्ड बनाएको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बिहीबार एक अमेरिकी डलर खरिद गर्न ९० रुपैयाँ ०४ पैसा खर्च गर्नुपर्ने भएको छ । जसले आयातित वस्तुको मूल्य बढेर महँगीको चाप थप बढ्ने छ ।

दिनदिनै नयाँ मूल्य हुन थालेपछि विदेशमा कच्चा पदार्थ र सामान अर्डर गरेका उद्योगी व्यवसायीको चिन्ता बढेको हो । 'एक/डेढ प्रतिशतको फरक दिनदिनै देखिन थालेको छ,' उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले भने, 'अघिल्लो दिनको अर्डर दर अर्को दिन फरक भइसक्छ, जसबाट धेरै घाटा हुन्छ ।' व्यापारीले आयात गर्दा डलर बढे त्यसको असर उपभोक्तामा बाँढ्न सक्छन् । तर उद्योगीलाई भने दिनदिनै मूल्य समायोजन गर्न सजिलो छैन । डलर खर्चेर कच्चा पदार्थ आयात गर्ने उद्योगको संख्या उल्लेख्य छ । जसमा डलरको अस्थिर मूल्यले असर पुगेको छ । साथै बढेको डलरको मूल्यले भारतबाट आयात हुने कच्चा पदार्थ पनि महँगो हुन थालेको छ ।

तेस्रो मुलुकबाट आयात गरेर भारत निर्यात गर्ने व्यवसायीलाई पनि अस्थिर डलरले जोखिम बढाएको छ । 'पहिले अर्डर लिएर बसेकाले बढेको डलर खर्चेर सामान पठाउनुपर्ने अवस्था आएको छ,' मुरारकाले भने ।

साथै डलरको अस्थिर मूल्यले निर्माण सामग्री, उपभोग्य वस्तु, खाद्यान्न, सुन लगायत क्षेत्रमा असर पार्ने अर्का उपाध्यक्ष प्रदीपजंग पाण्डे बताउँछन् । 'अधिकांश वस्तु आयात गर्ने भएकाले दैनिक चलनचल्तीका वस्तु महँगा हुने भए,' उनले भने, 'यसको असर केही दिनभित्रै पेट्रोलियम पदार्थको मूल्यमा पनि देख्न सकिन्छ ।' अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य नबढे पनि भारतमा डलर अधिमूल्यनका कारण केही समय अघि मूल्यवृद्धि गरेको छ । जसको असर भारतबाटै तेल आयात गर्ने नेपाललाई पनि पर्छ । 'पेट्रोलियम पदार्थको मूल्य बढ्ने बित्तिकै त्यसको प्रभाव बाकी अधिकांश क्षेत्रमा पर्छ,' उनले भने । डलर आफैं २४ प्रतिशतको हाराहारीमा र कच्चा पदार्थको मूल्य पनिसँगै बढेकाले उद्योगलाई असर पर्न थालेको उनले बताए ।

डलरको मूल्य बढ्दा निर्यातजन्य उद्योगलाई भने फाइदा हुन्छ । हस्तकला, गार्मेन्ट, कर्पोट, चिया लगायत वस्तु अन्य मुलुकका उत्पादन भन्दा बढी प्रतिस्पर्धी हुन पाउँछन् । 'डलरको मूल्यले दुई प्रकारको असर पार्छ,' हस्तकला महासंघका अध्यक्ष विकासरत्न धाख्वाले भने, 'डलर स्थिर हुँदा नै भने धेरै फाइदा हुन्छ ।'

 मूल्य बढ्ने क्रम जारी रहँदा प्रतिस्पर्धा गर्न सजिलो भए पनि बजारमा उथलपुथल आउन सक्ने उनी बताउँछन् । आयातको तुलनामा निर्यात नगण्य रहेकाले डलरको अस्थिरताबाट घाटा बढिरहेको पाण्डे बताउँछन् । 'यस्तो समयमा भटाभट निर्यात गर्न सकेको भए फाइदा हुने थियो,' उनले भने ।

डलरले सवारीसाधनको मूल्यमा पनि असर गर्न थालेको छ । तेस्रो मुलुकबाट आयात हुने सवारीसाधनमा मूल्यवृद्धि देखिन थालेको र भारतीय आयातमा केही समयपछि देखिन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष सौरभ ज्योतिले बताए । 'अन्य मुलुकमा भएको मूल्यवृद्धिको तीन गुणा बढी असर नेपालमा पर्छ,' उनले भने । भारतबाट आयात हुने सवारीसाधनको हालसम्म मूल्यवृद्धि भइनसकेको उनले बताए । 'भारतमा उत्पादन लागत बढिसकेको छ,' उनले भने, 'मूल्यमा यसको असर देखिन केही समय लाग्छ ।'

डलरको बढेको मूल्यले बैंक वित्तीय संस्था र राष्ट्र बैंकलाई भने फाइदा पुगिरहेको छ । यस्ता संस्थामा रहेका डलरको मूल्य बढेर नाफा भएको हो । साथै डलरको बढ्दो दरले विदेशी मुद्रा साट्दा पनि फाइदा बढेको छ । यसका साथै अमेरिकी डलरको मूल्य बढ्दा रेमिटेन्स भित्रिने क्रममा पनि वृद्धि आएको देखिन्छ । डलरको बढेको मूल्यले विदेशी ऋण भने बढी चुक्ता गर्नुपर्ने अवस्था आउँछ । साथै, विदेशी लगानी बढ्ने सम्भावना पनि कम हुन्छ ।

भारतमा रहेको स्थिर विनिमय दरका कारण नेपालमा डलरको मूल्य अस्थिर देखिएको छ । साथै, अन्तर्राष्ट्रिय बजारमा पनि डलरको भाउ बढिरहेको छ । विशेषगरी युरोपमा र भारतमा बढेको मागका कारण डलरको मूल्य बढेको हो । भारतमा पनि डलरको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार भारतमा एक डलरको मूल्य ५६ रुपैयाँ २३ पैसा थियो । भारत सरकारले थप कदम नचालेसम्म यो अस्थिर रहने टिप्पणी भारतिय विश्लेषकहरूले गरेका छन् ।

Source : ekantipur