Latest News

सडकमा हिँड्नै सास्ती - ekantipur

Jul 8, 2012

काठमाडौ, असार २३ -  झरी पर्न थालेपछि काठमाडौंका सडक देख्दा लाग्छ त्यो सवारी हिंड्ने सडक नभएर असारमा रोपाइँ गर्न तयार खेत हो । सडक फराकिलो पार्न भत्काउने, बनाउने, मर्मत गर्ने र ढल राख्ने काम यही झरीमा धमाधम चलेको छ । विस्तारित सडकको हाल अहिले उपत्यकाभर यस्तै छ । पैदलयात्रुदेखि सवारी चालकसम्म सडकको सास्तीमा छन् ।

काठमाडौंको सडकमा घाम लाग्यो धूलोले हिंड्न सक्ने अवस्था छैन । पानी पर्‍यो हिलोले हैरान छ । ट्राफिक, नगर विकास प्राधिकरण, सडक विभाग लगायतका निकायको पहलमा विस्तार गरिएको सडकको काम बेलैमा नसक्दा आमनागरिकले दुःख पाएका हुन् । राजधानीका दर्जनौं सडक अहिले फराकिलो हुने क्रममा छन् । कालोपत्रे नभइसकेकाले ती सडकले आमयात्रुलाई समस्यामा पारेको छ ।

ट्राफिक प्रहरीको पहलमा सबैभन्दा सुरुमा भत्काएको तीनकुनेको आइल्यान्डमा हिलोको आहाल छ । तीव्र गतिमा गुड्ने चारपाङ्ग्रे सवारीसाधनले हिलो छ्यापेर पैदलयात्री हिंड्न हम्मे छ ।

हिलो र धमिलो पानीको आहालमाथि सवारीसाधन गुडाउँदा असन्तुलित भई दुईपाङ्गे सवारी दुर्घटना हुने  खतरा पनि उत्तिकै छ । झरी रोकिएर घाम लाग्नासाथ बलौटे माटो उड्न र सडक घुलाम्मे हुन थाल्छ । यस्तो धूलोले श्वासप्रश्वास र आँखासम्बन्धी समस्या निम्त्याउने चिकित्सकहरूको भनाइ छ ।

चावहिलको विस्तारित सडकमा पनि त्यस्तै हाल छ । हिलोका कारण पैदलयात्री सडकमा हिंड्ने र सवारीसाधन रोकिएका कारण जाम बढेको छ । मैतीदेवी, पीपलबोट, घट्टेकुलो, अनामनगर क्षेत्रमा हिलोको आहाल छ ।

सडक विस्तार भएको ठाउँमा वैशाखमै टेन्डर भइसकेको हो । त्यसपछि केहीमा काम सुरु भयो भने अधिकांश भित्री सडक अलपत्र छन् । बानेश्वर क्षेत्रमा वषर्ायामकै बेलामा दलदले माटोमा डोजर लगाउने र हिलो सहितको ग्राभेल थुपार्ने काम भइरहेको छ । करिब ६ महिनादेखि सुरु भएको विस्तार अभियानकै क्रममा प्रधानमन्त्री बाबुराम भट्टराई, मुख्यसचिव माधव घिमिरे लगायतले तत्काल पुनर्निर्माण थाल्न निर्देशन दिएका थिए । तर मध्यवषर्ाअघि नै सकिनुपर्ने काम यतिबेला तीव्र बनेको छ । 'हिलाम्मे सडकका कारण सवारी आगमनमा समस्या छ,' महानगरीय ट्राफिक महाशाखाका प्रमुख गणेश राईले भने, 'हिलोमा चिप्लिँदा र धमिलो पानीले खाल्डो नदेखिँदा कतिपय ठाउँमा दुर्घटना भएको छ ।'

पर्याप्त गृहकार्यबिना अनुपयुक्त समयमा सडक विस्तार थालिएकाले यस्तो समस्या आएको सहरी पूर्वाधार विशेषज्ञ चाँदशमशेर राणाले बताए । उनका अनुसार ढल, सडक निर्माणमा तीव्रता दिन बर्खायाम उपयुक्त समय होइन ।

'जहाँ पनि योजना र कार्यक्रम उपयुक्त समयमा थाल्नु र सम्पन्न गर्नु राम्रो हो र त्यो दिगो हुनसक्छ,' पुल्चोक क्याम्पसमा प्राध्यापनरत राणाले भने, 'गलत समयमा धमाधम निर्माण हुँदा गुणस्तरमा समस्या हुन्छ, अस्तव्यस्तताबाट यात्रुले पनि अनेक समस्या बेहोर्नुपर्छ ।'

सबैभन्दा छिटो निर्माण सुरु भएको तीनकुने-बानेश्वर सडकमा अहिले खाल्डो खनेर पाइप बिछ्याउने काम चल्दैछ । सडकछेउमा थुपारिएको हिलोका कारण पैदलयात्रु हिंड्नै नसक्ने अवस्थामा पुगेका छन् । यही समय विद्युत् प्राधिकरणले केही ठाउँमा पोल सारिरहेको छ । वषर्ायाममा भएको यो निर्माणकार्यले सहर अस्तव्यस्त भएको स्वीकार्ने एक प्राविधिक अधिकारी यसलाई स्वाभाविक ठान्छन् ।

'सडक खनेर पाइप बिछ्याउने, माटोले पुर्नेदेखि ग्राभेल हाल्ने, पुर्ने र त्यसमाथि गिट्टी बिछ्याउने काम हतारहतारमा सकाउन सम्भवै छैन,' काठमाडौं सडक विस्तार आयोजनाका प्रमुख श्याम खरेलले कान्तिपुरसित भने, 'वैशाखमा मात्रै काम सुरु भएको हो, ठेकेदारलाई कम्तीमा १५ महिनाको समय दिएका छौं । तैपनि सडक हिलाम्मे हुन नदिन सक्दो कोसिस भएको छ ।' तर छिट्टै निर्माण र सम्पन्न गर्न सकिने भित्री र साना सडकको समस्या पनि उस्तै छ । काठमाडौंका ठूला र रणनीतिक सडक विस्तारका लागि गठित आयोजनाले भित्री सडक नहेर्ने भएकाले यसबारे आफूलाई थाहा नहुने खरेलले बताए ।

सडक विस्तार अभियानमा जोडिएका नगर विकास प्राधिकरण, ट्राफिक लगायतका निकायका अधिकारीका भनाइमा टेन्डरपछि सडक कार्यालय र विभागले ठेकेदारलाई तत्काल काममा लगाउन नसक्दा यस्तो परिस्थिति भएको हो । तर आयोजना प्रमुख खरेल यो आरोप स्वीकार्न तयार छैनन् । विस्तारका क्रममा परेको २४ करोड रुपैयाँको ठेक्का केही सातामा सम्पन्न गर्न सम्भव नहुने उनले बताए । 'त्यस्तो पूर्वाधार हामीकहाँ बनिसकेको छैन,' उनले भने ।

जताततै खेतजस्तै


प्राविधिकहरूका अनुसार ठेकेदारले धोका नदिए, समयमा सबै निर्माण सामग्री उपलब्ध भए र बन्द हडतालका कारण अवरोध नभए विस्तारका क्रममा भत्किएका अधिकांश सडक आगामी कात्तिक/मंसिरमा सम्पन्न हुने खालका छन् । केही योजना अर्को वषर्ायामसम्म पनि सम्पन्न गर्न कठिनाइ हुने सडक विस्तार आयोजनाका एक प्राविधिकले बताए । 'मुख्यसचिव/प्रधानमन्त्रीलाई प्राविधिक कुरा थाहा हुँदैन, त्यसैले वषर्ाअघि सक्नु भनेर निर्देशन दिएका हुनसक्छन्,' ती प्राविधिकले भने, 'यति छिट्टै कुनै हालतमा सम्पन्न हुँदैन ।' एकदेखि डेढ मिटरसम्म व्यास भएका ढलपाइप हाल्न र तिनमा माटो खाँदिन समय लाग्ने भएकाले हतारमा पिच गर्न नसकिने ती प्राविधिकले बताए । उनका अनुसार विस्तारित अधिकांश सडकमा यसपालि हिलो र धूलोको समस्या हुनेछ ।

यसैबीच ट्राफिक महाशाखाले शनिबार तीनकुने क्षेत्रमा सडक विस्तार गरेको छ । यसअघि नै चिह्न लगाएको र सूचना निकालेकाले शनिबारदेखि तीनकुनेको अतिक्रमित संरचना भत्काइएको महाशाखा प्रमुख राईले बताए । यसैगरी शंखमूलदेखि नयाँ हुँदै पुरानो बानेश्वर पुग्ने सडकसमेत विस्तारको तयारीमा छ । लाजिम्पाट-पानीपोखरी-महाराजगन्ज क्षेत्रमा पनि १५ दिने सूचना निकालिएको राईले बताए ।

Source : ekantipur