Latest News

इङ्गल्यान्डसँग नेपाल १२६ रनले पराजित, अङ्क तालिकामा पुछारमा - Nagarik News

Aug 16, 2012

काठमाडौँ, साउन ३२ - इङ्गल्यान्डले दिएको २७५ रनको कठिन लक्ष्य पछ्याउन मैदानमा उत्रेका किशोरहरुको ब्याटिङ सुरुवातमै धर्मराउन थालेपछि नेपालले १२६ रनको पराजय भोगेको छ। यु १९ विश्वकपमा यो नेपालको लगातार तेस्रो पराजय हो। यसअघि नेपालले अस्ट्रेलियासँग २१२ रनको र आयरल्यान्डसँग १४ रनको पराजय सहेको थियो। समूह चरणका तीनै खेलमा पराजित भएपछि नेपाल अङ्क तालिकामा पूछारमा रहेको छ। इङ्ग्ल्यान्डले भने दक्षिण अफ्रिकासँग पहिलो क्वार्टर फाइनल खेल्ने टुङ्गो लागेको छ।

समूह चरणबाट पराजित राष्ट्रहरुले प्लेट च्याम्पियनसिप खेल्नेछन्। नेपालले अब प्लेट च्याम्पियनसिपमा दावेदारी प्रस्तुत गर्नेछ। नेपाल सन् २००६ को प्लेट च्याम्पियनसिप विजेता हो।  ठूलो लक्ष्य पछ्याउन उत्रेको नेपालका सुरुवाती ३ ब्याट्सम्यान सून्य रनमा आउट भएका थिए।  सागर पुन, नरेश बुढायर र पृथु बाँस्कोटा पहिलो पाँच ओभरभित्रै सून्य रनमा आउट भएका हुन् भने अन्तिम विकेटका रुपमा अविनाश कर्ण पनि सून्य मै आउट भए। राजेश पुलामी मगर र भुवन कार्की १ रनमा आउट भए। प्रदीप ऐरी ५ रनमा आउट भए।  पहिलो पाँच ओभरमा नेपाल ४ विकेटको क्षतिमा मात्र ९ रन जोड्न सफल भयो। 

प्रारम्भिक ब्याटसम्यान सुवास खकुरेलले नेपालको इनिङलाई सम्मानजनक बनाउने प्रयास गरे। आफ्ना साथीहरुको विकेट पल्लो छेउमा एकपछि अर्को गर्दै  धमाधम ढलिरहँदा पनि उनले विचलित नभई १ छक्का र ४ चौकासहित ५९ बलमा  अर्धशतक पूरा गरे। अर्को छेउबाट हसिम अन्सारीले दरिलो साथ दिएपछि क्रेग ओभरटनको एलबीडब्ल्यु धरापमा परी आउट हुनुअघि सुवासले ७० बलमा ५५ रन बनाए। 

अन्सारी नेपाली इनिङमा स्कोरबोर्डमा दोहोरो अङ्कको रन बनाउने दोस्रो खेलाडी बने। छैटौँ विकेटका लागि सुवास र अन्सारीले ६७ रनको साझेदारी गरे। अन्सारीले ३६ रन बनाए भने राहुल विश्वकर्माले २० रन बनाए। फैजलुर रहमानले १० रन जोडे।  एक समय नेपाल सामु  ऐतिहासिक पराजय स्वीकार नगर्ने एउटा थप चुनौति तेर्सिएको थियो। सन् २००८ को यु १९ विश्वकपमा नेपालले वेस्टइन्डिजविरुद्ध ७४ रन मात्र बनाएको थियो। यो नै नेपालको यु १९ विश्वकपमा सबैभन्दा कम स्कोर थियो। 

सुवास र अन्सारीको साझेदारीले यो जोखिम टरे पनि नेपालले ४६ ओभरमा १४८ रनमा सबै विकेट गुमाउन पुग्यो।

Source : Nagarik News