Latest News

भक्तपुरमा १६ करोड खर्चेर फनपार्क

Aug 18, 2012

पलासे (भक्तपुर), भाद्र २ - निजी क्षेत्रको लगानीमा पलासेमा बन्दै गरेको फनपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । घुमघाम र मनोरञ्जनका लागि उपत्यकामा व्यवस्थित पार्क नभएकाले १६ करोड लगानीमा काभ्रे पाँचखालका दिनेश गिरी र भरत गिरीले पार्क बनाएका हुन् ।

७५ रोपनी क्षेत्रफलमा निर्माण गरेको फनपार्कमा स्वीमिङ, थ्रीडीसहित १९ वटा खेल रहेको सञ्चालक दिनेशले बताए । 'काठमाडौं फनभ्याली' को नाममा संस्था दर्ता गरेर पार्क निर्माण सुरु गरेको उनले बताए । पार्कमा बालबालिकादेखि वयस्कलाई समेत लक्षित गरी खेलको व्यवस्था गरेको उनले जानकारी दिए ।

०६७ जेठदेखि निर्माण सुरु भएको हो । असोज पहिलो सातादेखि सर्वसाधारणका लागि खुला गर्ने भएको छ । पार्कमा पानीमा खेल्ने खेलमात्रै पाँचवटा रहेको छ । त्यस्तै एम्बुसमेन्ट खेलतर्फ १० भन्दा बढी छन् । पानीमा खेल्ने खेलमा स्लाइडिङ, अक्वा डान्स, वेभ पुल, रेन डान्स, चाइल्ड स्लाइडिङलगायत रहेको छ । एम्बुसमेन्टतर्फ अन्य पार्कमा भएभन्दा बढी छ । अरनिको राजमार्गको पलासे खण्डको बायाँतर्फ उक्त पार्क निर्माण भएको छ । 'पाँच हजारजना अटाउने व्यवस्थित पार्क निर्माण भइरहेको छ,' दिनेशले भने, 'सबै काम सकाउन १६ करोड खर्च हुन्छ ।' पार्कमा पस्न टिकटको व्यवस्था गर्ने भएको छ । निश्चित शुल्क तिरेपछि सबै सेवा उपभोग गर्न पाउँछन् ।

'पौडीसहित १९ वटा खेलको अन्यत्र सेवा लिँदा १ हजार रुपैयाँभन्दा बढी पर्न सक्छ,' उनले भने, 'हामी यति धेरै लिँदैनौ । कम शुल्क लिने योजनामा छौं ।' यस्तो प्रकारको पार्क नेपालमै पहिलो भएको उनले दाबी गरे । पार्कभित्रै रेस्टुरेन्ट, शौचालय, कपडा फेर्ने कोठाको समेत व्यवस्था गरेको दिनेशले बताए । पानीसम्बन्धी खेलका लागि बोरिङ गरेर पानी निकालिएको छ ।

Source : ekantipur