Latest News

सरकार-यातायात व्यवसायी वार्ता असफल - ekantipur

Aug 10, 2012

काठमाडौ, श्रावण २६ - सरकारसंगको वार्ता असफल भएपछि यातायात व्यवसायीले आफ्नो अनिश्चितकालीन हड्ताल जारी राख्ने भएका छन् । शुक्रबार अपरान्ह बसेको वार्तामा यातायात व्यसायीले उठाएको कुनै पनि माग सरकारले सम्बोधन गर्न नसकेपछि वार्ता असफल भएको हो ।

नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघका महासचिव डोलनाथ खनाले सरकारले कुनै पनि मागलाई सम्बोधन नगरेको बताए । उनले भने 'हाम्रो मागलाई वेवास्ता गरिएकाले जारी अनिश्चितकालीन हड्ताल कायम रहन्छ ।' वार्ता असफल भएपनि सरकारी टोलीले थप गृहकार्य गरी फेरि वार्तामा बस्ने जनाएको छ । तर, फेरि कहिले वार्ता बस्ने बारे आजको बैठकमा टुङ्गो लागेको छैन ।

ट्राफिक नियम उल्लंघन गरे १ हजारसम्म जरिवाना गर्न पाउने अधिकार सरकारले ट्राफिक प्रहरीलाई दिएपछि मुख्य रुपमा यतायात व्यवासयीहरु त्यसविरुद्ध आन्दोलित भएका छन् । उनीहरुले ट्राफिकलाई दिइएको उक्त अधिकार फिर्ता हुनुपर्ने माग राखेका छन् । विभिन्न १५ बुँदे माग राख्दै व्यवासयीले शुक्रबारदेखि सार्वजनीक यातायात चलाएका छैनन् ।

भौतिक योजना, निर्माण तथा यातायात मन्त्रालयमा भएको वार्तामा सरकारी टोलीको नेतृत्व मन्त्रालयका सचिव तुलसी सिटौलाले गरेका थिए । सरकारी टोलीमा यातायात विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ लगायतका अन्य अधिकारीहरु पनि सहभागी थिए ।

त्यस्तै व्यवासायीका तर्फबाट महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य सहित अन्य यातायाता व्यवासायीका प्रतनिधी तथा विभिन्न दल सम्बद्ध यातायात मजदुर युनियनका प्रतिनिधि सहभागी थिए ।

Source : ekantipur