Latest News

'यार्सागुम्बा' को कथा आजदेखि हलमा - Nagarik News

Aug 10, 2012

काठमाडौं, साउन २६ - नेपालको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा टिप्ने र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने कथामा आधारित फिल्म शुक्रबार रिलिज हुँदैछ। केसी राजेन्द्रद्वारा निर्देशित फिल्म 'यार्सागुम्बा' काठमाडौंका कुमारीसहित आधा दर्जनजति हलमा चल्दैछ। अस्ट्रेलियाबाट फिल्म स्टडिज पढेर आएका राजेन्द्रको पहिलो फिल्म हो यो। रुकुमको यार्सा पाइने भेगमा निकै कष्टका साथ छायांकन गरिएको फिल्ममा रुकुमका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले पनि अभिनय गरेका छन्। कमर्सियल फिल्ममा जस्तो कृत्रिमताको सट्टा यथार्थतालाई ध्यान दिइएको निर्देशकले बताए।

पत्रकार क्रन्दन चापागाईले लेखेको फिल्ममा गणेश उप्रेती, पवि जिसी, प्रदीप बुढाथोकी, राजीव हिमाशिव लगायतको मुख्य भूमिका छ। थ्रिलरको रूपमा प्रस्तुत गरिएको फिल्ममा यार्सा टिप्ने र लुट्नेहरुबीचको सामुहिक झगडा पनि छ। स्थानीय वासिन्दाको ठूलो सहभागितामा फिल्ममा छ।

रुकुममै स्थलगत रेकर्ड गरिएको गीतमा एउटा लोकनृत्य समावेश गरिएको फिल्ममा पुरानो गीत 'भैंसी बगालैको'को नयाँ संस्करण पनि सुन्न हेर्न पाइनेछ। विपीन घिमिरे र एकराज संगीतको संगीत र रामेश्वर कार्कीको छायांकन यसमा छ।

Source : Nagarik News