Latest News

मान्छेबाट देउता बन्दाको अनुभव - Nagarik News

Aug 10, 2012

उपेन्द्र लामिछाने, बोडे (भक्तपुर) साउन २६- साउन २० बाट सुरु तीन दिन चार रातको निलबाराही नाचमा सहभागी भक्तपुर बोडेका प्रेमचन्द श्रेष्ठ बिहीबार बिहान आफ्नो आँगनमा प्रसन्न मुद्रामा भेटिए। खाली पेटमा दैनिक १४ घन्टासम्म निलबाराहीको मुखुण्डो लगाएर नाचेका उनी आफ्नै हसिलो अनुहारसाथ प्रस्तुत भए।

'थकान हटिसक्यो,' शनिबार साँझदेखि मंगलबार साँझसम्म नाचमा व्यस्त ६१ वर्षे श्रेष्ठले भने, 'देवताबाट मान्छेको रूपमा फर्केका छौं।' ७ वर्षको उमेरदेखि नै निलबाराही नाचगणमा सहभागी उनी ५४ वर्षसम्म नाच्न पाएकोमा खुसी थिए।

'नाचेर हाम्रो आर्थिक उन्नति त खासै भएन,' उनले भने, 'हरेक वर्ष तीनचार दिन देवता बन्न पाउँदा गर्व लागेको छ।' देवीको भेषमा नाचेकै कारण समाजमा आफूहरूलाई सम्मानसमेत मिल्ने गरेको उनले सुनाए। 'अरूहरूले हामीलाई अन्य समयमा पनि देवताजस्तै आदर गर्छन्,' उनले भने, 'समाजले हामीबाट पनि देवताजस्तै व्यवहारको अपेक्षा गर्छन्।'

२०१६ सालबाट उनका हजुरबा बाबुनाथ श्रेष्ठले नाच सञ्चालन गर्ने जिम्मेवारी पाएसँगै उनीसँगै उनका काकाका दुई छोरा पनि नाच्दैछन्। उनका हजुरबाले ७ वर्षकै उमेरमा कुमार श्रेष्ठलाई गणेशका मुखुण्डो लगाएर नाचमा सहभागी गराएका थिए भने अर्का १२ वर्षे नाति बासुदेवलाई भैरवका रूपमा नचाएका थिए।

'म कुमार भएर गणेशको भेषमा नाच्दैछु,' ६१ वर्षे कुमार श्रेष्ठले भने, 'नाच्दा खुसी मिल्छ।' नाच अवधिमा केही थकान महसुस भए पनि त्यसले स्वास्थ्यमा केही असर नगर्ने उनले सुनाए। 'पेटमा पटुका कसेर नाच्छौं,' उनले हास्दै भने, 'भोक लाग्ने कुरै भएन।' बाल्यकालमा पनि यसै गरी नाच्दै आएको उनले सुनाए।

नाचमा सहभागी ६६ वर्षे बासुदेव भैरवको भेषमा नाच्न पाएकोमा गर्व महसुस गर्छन्। 'अव त जीवन नै नाचजस्तो लाग्न थालेको छ,' उनल भने, 'मनमा सधैं भैरवकै सम्झना हुन्छ।' बासुदेवका ३५ वर्षे छोरा बालसुन्दरले सानैदेखि बुवाको नाच हेर्दै आएको सुनाए। आफ्ना पिताले संस्कृति जगेर्नाका लागि लामो समय नाचमा सहभागी भएकोमा उनले गर्व व्यक्त गरे।'

तीन दिन चार रात लामो नाचमा बाराही, कुमारी, भैरव, गणेश, सिंह, द्वारपाल, कुमारी लगायत भेषमा २१ स्थानीय सहभागी रहन्छन्।

बोडेका 'ध्वा' थर भएका एक किसानलाई निलबाराहीले खेतबाट लगेर नाच सिकाएको किंवदन्ती रहेको सूर्यराम श्रेष्ठले बताए। 'उनैले सिकाउँदै आएको परम्परा जीवित छ,' उनले भने, 'अझै पनि ध्वा थर भएका व्यक्तिको घरबाट माला लिएर नाच सुरु हुने गरेको छ।'

Source : Nagarik News