Latest News

देशभर भाडाका सवारी साधन ठप्प - Nagarik News

Aug 10, 2012

हिजोको वार्ता निश्कर्षहीन, आज फेरि वार्ता-

काठमाडौं, साउन २६ - यातायात व्यवसायीहरुले आजदेखि अनिश्चितकालीन  यातायात बन्द गरेपछि देशभर भाडाका सवारी साधन ठप्प भएका छन्। सडकमा निजी र विद्यालयका गाडीहरु भने चलेका छन्। देशभर झन्डै १३ लाख भाडाका गाडी छन्। बागमती अञ्चलमा मात्र १ सय ३ समितिका झन्डै लाख भाडाका सवारी साधन चलेका छैनन्।

भाडाका सवारी साधन ठप्प भएपछि निजी सवारी साधन र मोटरसाइकल नभएकाहरु पैदलै गन्तव्यतर्फ जान बाध्य भएका छन्। लामो दूरीका सार्वजनिक सवारी साधनसमेत ठप्प हुनाले सर्वसाधारणलाई ठूलो मर्का परेको छ। 'मन्त्रालयले व्यवसायीका जायज माग सम्बोधन गर्ने भनेरै वार्ताको तयारी गरेको हो,' मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले नागरिकसँग भने। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजुदर संघ तथा नेपाल यातायात मजदुर स्वतन्त्र संगठनलगायत यातायात व्यवसायीको अग्रसरतामा आन्दोलन सुरु भएको हो।

बन्द रोक्न यातायात व्यवसायी र भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयबीच बिहीबार बेलुका भएको वार्ता कुनै निर्णयमा नपुगी स्थगन भएपछि आज दिउँसो २ बजे फेरि वार्ता हुँदैछ। मन्त्रालयका वरिष्ठ सहसचिव नारायणगोपाल मलेगोको संयोजकत्वमा गठन भएको विज्ञसहितको पाँच सदस्यीय टोली र यातायात व्यवसायी तथा आन्दोलनरत मूल संघर्ष समितिबीच वार्ता भएको हो। मन्त्रालयले वार्तामार्फत व्यवसायीका जायज माग सम्बोधन गर्ने बताएको थियो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डोलनाथ खनालले उनले वार्ताका क्रममा सरकारले आफ्नो मागलाई सम्बोधन गरे आन्दोलन फिर्ता लिन व्यवसायी तयार भएको बताए। उनका अनुसार व्यवसायीले वैशाखदेखि नै सरकारसँग यातायात मन्त्रालयबाट ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरिएको थप अधिकार खारेज हुनुपर्ने, यातायात मन्त्रालयलाई छुट्टै मन्त्रालयका रूपमा गठन गर्नुपर्ने, यातायात क्षेत्रलाई उद्योगसरह मान्यता दिनुपर्ने, ट्राफिक प्रहरीलाई जरिवानाबाट कमिसन दिने निर्णय खारेज हुनुपर्ने, बीमा नीति लागू हुनुपर्नेलगायत माग राख्दै आएका थिए।

मागबारे व्यवसायीले वैशाख ३१ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए। त्यसैगरी जेठ २ गते देशव्यापी रूपमा सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए। जेठ २५ गते नै यातायात व्यवसायीका विभिन्न काउन्टरमा कालो झण्डा राख्नुका साथै यातायात कार्यालयहरूमा समेत कालो झण्डा राखेर विरोध गरेका थिए।

'असार १७ गते प्रधानमन्त्रीलाई पुनः ज्ञापनपत्र बुझाएर मागमा सम्बोधन गर्न अनुरोध गरेका थियौ,' नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष तथा आन्दोलन मूल संघर्ष समितिका सदस्य सरोज सिटौलाले नागरिकसँग भने, 'ज्ञापनपत्र बुझाएको झन्डै १५ दिन भइसक्दा पनि सरकारबाट कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएका हौं।'

Source : Nagarik News