Latest News

युवतीले दुर्व्यवहार नसहँदा...

Aug 4, 2012

काठमाडौं, साउन २०- शनिबारको बिहान छुट्टी भएकाले सम्झना श्रेष्ठ बारीमा खर काट्न जाँदै थिइन्। उनको घरपश्चिम बाटोमा नै खड्गबहादुर श्रेष्ठको घर पर्छ। तेह्रदिने दाजुभाइ, ३१ वर्ष जेठा, नातामा हजुरबुवा।

खड्गबहादुरकै आँगन भएर सम्झनाको परिवार घर-खेत, बजार, स्कुल आउजाउ गर्छ। खड्गबहादुर धेरैजसो रक्सीले मातेरै बसेका हुन्थे र उनी जसलाई बोलाउँदा पनि अश्लील शब्द प्रयोग गर्थे। सम्झना मौन प्रतिवादमात्र गर्थिन्।

काभ्रे, भुम्लुटार। २०६५, माघ ४। त्यसदिन सम्झना आँगन हुँदै हिँड्दा खड्गबहादुरले अश्लील शब्द मात्र बोलेनन्, हात समाएर एकतले घरको मझेरीमा ताने। सम्झनालाई कुनै गल्तीबिना बाटो आउजाउ गर्दा खड्गबहादुरको अश्लील शब्द सुन्दा मानसिक पीडा हुन्थ्यो, त्यो दिन जबरजस्ती गरी शारिरीक पीडा दिन खोजेका थिए। सम्झनाले सहन सकिनन्। खड्गबहादुरको पन्जाबाट आफूलाई छुटाई सतीत्व रक्षा गर्न नजिकैको कोदालाको बिँड समातिन् र भकाभक खड्गबहादुरलाई हानिन्। सम्झनाका अनुसार खड्गबहादुर रक्सीले मातेका थिए। उनको चुटाइले मझेरीमै भक्लक्क लडे। लडेको थाहा पाएपछि सम्झना बेहोसीमै घर फर्किन्।

एकछिनमै खड्गबहादुरको आँगनभरि पुलिससहित गाउँलेको हुल जम्मा भयो। पुलिसले घटना छानबिन गर्‍यो। सम्झनाले माथिकै बयान दिइन्। त्यो दिन पुलिसले उनलाई 'बहिनी तपाईंको गल्ती रहेनछ, घर जानुस्' भन्दै पठाएका थिए। घर आइन्। राति सुत्ने बेला खबर आयो, 'खड्गबहादुर हजुरबा बिते।' गाउँका धेरैले खड्गबहादुरलाई हजुरबा भनेरै बोलाउँथे। उनी भोलिपल्ट बिहानै धुलिखेल जानुपर्ने भएकाले घरबाट निस्किन्। अघिल्लो दिनको घटनाले मन आत्तिएको थियो। काठमाडौं कालीमाटी बस्ने मामाले बोलाए।

'मामाहरूसँग हामी कालीमाटीबाट धुलिखेलको कार्यक्रममा जान लाग्दा पुलिसले टेकुमै दिदीलाई समात्यो,' सम्झनाकी बहिनी सजनाले भनिन्, 'त्यसपछि दिदी जेलको जेल नै छे।' 

साढे तीन वर्षदेखि सम्झना जेलमै छिन्। 
...
घटनाको १० घन्टापछि खड्गबहादुर मरे, दाजु खेतबहादुरले सम्झनाबिरुद्ध प्रहरीलाई जाहेरी दिए। प्रहरीले सम्झनाबिरुद्ध ज्यान मुद्दा चलायो। प्रहरीले लिएको बयानमा खेतबहादुर, खड्गबहादुरकी श्रीमती सीता श्रेष्ठलगायत थुप्रै साक्षीले सम्झनाले कोदालाको बिँडले हानेरै मारेको उल्लेख छ। पछि अदालतको बयानमा उनीहरू सबैले प्रहरीको बयानमा भएको आफ्नो ब्यहोरा झुटो भएको र आफूहरूले पुलिसले सही गर भनेको ठाउँमा मात्रै गरेको बताएका छन्। खड्गबहादुरको मृत शरीर परीक्षण गर्ने डाक्टर दिवशसिंह झाले लासको हातको कान्छी र चोर औंला भाँचिएको, गालामा प्वाल पर्ने गरी चोट लागेको, दाहिने खुट्टाको घुँडामुनि दुई ठाउँमा भाँचिएर हड्डीको टुक्रा बाहिर निस्किएकाले त्यहींबाट रक्तश्राव भएर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट बुझाएका थिए। यी सबै प्रमाण र बयानबाट घटना भएको १० महिनापछि काभ्रे अदालतका तत्कालीन न्यायाधीश राजेश काफ्लेले २०६६ मंसिर २८ गते ज्यान मुद्दा चले पनि १२ कक्षा पढ्दै गरेकी काभ्रे भुम्लुटारकी सम्झनाले खड्गबहादुरलाई मार्नैपर्ने कारण र योजना नभएको तथा सांघातिक हतियारसमेत प्रयोग गरेको नदेखिएको भन्दै जन्मकैदको फैसलामा न्यायाधीशको राय राखी सजाय पाँच वर्षमा झारे। मुद्दामा बहस हुँदा वकिलहरूले सम्झनाले सतित्व रक्षाका लागि खड्गबहादुरलाई कोदालीको बिँडले हानेकाले मुलुकी ऐन जबरर्जस्ती करणीसम्बन्धी ८ नम्बरको महल अनुसार सफाइ पाउनुपर्ने बताए। उक्त व्यवस्थाअनुसार जबरजस्ती गर्न खोज्ने व्यक्तिलाई पीडितले घटनाको एक घन्टाभित्रै कुटपिट गर्दा मृत्यु नै भए पनि सफाइ हुन्छ। त्यसैलाई सम्बोधन गर्दै न्यायाधीशले पुनरावेदन अदालत पाटनको आदेशअनुसार २०६८ वैशाख २० गते धारा १८८ अनुसार आफ्नो रायमा २० वर्षको कैदसजाय घटाई पाँच वर्षमा झारेका हुन्। जिल्ला अदालतको पहिलो फैसलामा कानुनी स्पष्टता नभएको भन्दै पुनरावेदन अदालतले २०६७ असार ८ गते फैसला गरेर पठाउन जिल्लालाई तीनमहिने म्याद दिएको थियो। 
...
सम्झना र उनको परिवारलाई मुद्दासम्बन्धी कुरा थाहा थिएन। नत्र उनले आफूमाथि जबरजस्ती गर्न लागेको भन्दै 'जबरजस्ती करणी उद्योगको मुद्दा' हाल्न सक्थिन्। घटना भएको एक सातापछि बहिनी सजनाले अभियोगपत्र त दिइन् तर ढिलो गरी दिएको भनी सम्बोधन भएन।

जिल्ला अदालतमा विचाराधीन भइरहँदा मुद्दा हेर्ने अधिवक्ता मीरा ढुंगाना सम्झनाको मुद्दामा अनुसन्धान फितलो भएकाले उनी जेल बस्नुपरेको तर्क गर्छिन्। 'सम्झनाको मुद्दामा अनुसन्धान नै फितलो भएको छ, खड्गबहादुर भर्‍याङबाट लडेको हो भनी जाहेरी दिनेकै बयान छ अदालतमा,' उनले भनिन्, 'सम्झना निर्दोष देखिए पनि अनुसन्धान फितलो भएर उनी जेलमा बसिरहनुपरेको छ। उनको मुद्दाले यस्तो विषयमा नयाँ नजिर बन्नसक्ने सम्भावना छ।'

दोषी ठहर हुनुअघिदेखि नै सम्झना जेलमै छिन् जो आफैंमा गैरन्यायिक मानिन्छ। उनीबिरुद्ध मुद्दा चलेर दोषी ठहरिनुअघिदेखि नै उनलाई कैदीसरह जेलमा हालियो। 'दोषी ठहर नभएकालाई जेलमा नभई न्यायिक हिरासतमा राख्नुपर्ने हो,' ढुंगानाले भनिन्, 'हाम्रोमा भने पहिल्यै जेलमा हालिन्छ।' 

...
२१ वर्षकै उमेरमा जेलजीवन सुरु गरेकी उनी अहिले साढे २४ वर्ष पुगिन्। 'करियर बनाउने उमेरमा जेल परेँ,' अघिल्लो साता सुन्धारास्थित महिला कारागारमा सम्झनाले भनिन्, 'मलाई दसा लागेको थियो, बिनागल्ती सजाय भोगिरहेछु, तैपनि मैले आफ्नो पढाइ र पढाउने काम छाडेको छैन।' बाह्र कक्षा पढ्दै गर्दा जेल पुगेकी सम्झना अहिले स्नातक तेस्रो वर्ष पढिरहेकी छिन्। 'बिए फस्ट इयर क्लियर भयो, दोस्रोको रिजल्ट आएको छैन,' सम्झनाले भनिन्, 'जेलभित्रै निरक्षरहरूलाई पढाउने व्यवस्था छ, म दुई वर्षदेखि उहाँहरूलाई पढाइरहेकी छु।' 
...
घटनाअघि सम्झना गाउँकै प्राथमिक विद्यालयमा दुई वर्षदेखि पढाउँथिन्। छोरी बढेर आफ्नो थोरै कमाइले घर धान्न सक्ने भएपछि तिनै छोरीको बिहेदान गर्न बाबु तेजबहादुर साउदी अरब लागे। जेठी छोरी सम्झनाले घरको आर्थिक स्थिति केही सुध्रेला कि भनेर बुवालाई विदेश जान सुझाइन्। 'तर छोरामान्छे नभएको घरका छोरीचेली भनेर गाउँमा हामीलाई हेप्थे,' सम्झनाले निरस स्वरमा भनिन्, 'गल्ती नगरी हेप्न पाइन्न भन्दै म ती हजुरबालाई हकार्थें, त्यही सहन नसकेको होला, त्यति घटना मेरा लागि जिन्दगीभरको खोप रह्यो।' पैसा कमाउन अरब पुगेका बुवा घर धान्ने छारी जेल परेको खबरपछि फर्के। 
...
सम्झनाले जेलमा बसेरै आफूमाथि स्पष्ट फैसलाका लागि जिल्ला अदालतको फैसलाबिरुद्ध पुनरावेदन दिइन्। ३१ वर्ष जेठा आफन्त पर्ने हजुरबुवालाई सम्झनाले मार्नुपर्ने कुनै नियत स्पष्ट नभएको र कुटपिटका क्रममा कुनै सांघातिक हतियार प्रयोग गरेको नदेखिएको जिल्ला अदालतको फैसलामा उल्लेख छ। पछि पुनरावेदन अदालतले पनि सम्झनाको कलिलो उमेर र १२ कक्षा पढ्दै गरेको विद्यार्थीले नाता पर्ने हजुरबालाई मार्नैपर्ने नियत मिसिलप्रमाणबाट नखुलेको बताएको छ। यिनै कुरा उल्लेख गर्दै पुनरावेदनले २०६८ कात्तिकमा सम्झनालाई चार वर्ष कैदको फैसला सुनायो। 
तैपनि सम्झनालाई आफूमाथि भएको फैसला चित्त बुझेन। उनले सर्वोच्च अदालतमा पूरै सफाइ पाउनुपर्ने माग गर्दै पुनरावेदन दिइन्। सम्झनाको फैसलामा सरकारले चैत १४ गते र सम्झनाका पक्षले जेठ २३ गते पुनरावेदन दर्ता गरेका छन्। 
पुनरावेदन फैसलाअनुसार सम्झनाको कैद आउँदो माघ ५ गते सकिँदैछ। तर, सर्वोच्च अदालतमा मुद्दा पेसीमा भदौ अन्तिम साताका लागि मात्रै चढेको छ। सर्वोच्चको थुनुवा शाखाका अनुसार मंसिरसम्म पेसीमा ठाउँ नै खालि छैन। सम्झनाको कैद नै सकिन लागेकाले उनको पेसी बीचमा घुसाइएको हो।
सर्वोच्चमा मुद्दाको चाप बढेको र न्यायाधीश संख्या कम हुँदै जानु मुद्दा व्यवस्थापनको समस्या भएको प्रवक्ता श्रीकान्त पौडेल बताउँछन्। 'तल्लो अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा परेका फौजदारी मुद्दामात्रै ३२ सय छन्,' प्रवक्ता पौडेलले नागरिकसँग भने, 'न्यायाधीशहरूको संख्या घट्दो क्रममा छ र नियुक्ति भइहाल्ने बाटो रोकिएको छ।'
न्यायाधीशको संख्या घट्नु र फौजदारी मुद्दाको संख्या बढ्नुले मुद्दा व्यवस्थापनमा समस्या हुने गरेको पौडेलले बताए।
...
'हाम्रो तेह्र दिने दाजुभाइ पर्ने हजुरबुवा भए पनि उहाँ सधैं छाडा बोल्नुहुन्थ्यो, म सधैं हेपिएको फिल गर्थें,' सम्झनाले अघिल्लो बिहीबार कारागारमा भनिन्, 'बुवा अरबमा भएको बेला हामी छोरीमात्रै भएको घरलाई धेरै हेपिरहनुहुन्थ्यो। त्यो दिन त हातै समातेर घरभित्र लैजान खोजेपछि मैले सहन नसकेर नजिकैको कोदालाको बिँडले हानेकी हुँ।'

जेलमा काट्नुपर्ने समय सकिनै लागिसक्यो, तैपनि उनलाई सर्वोच्च अदालतको फैसलाबाट केही आश छ। 'मैले त भोगिहालेँ, केही नजिर बस्यो भने अरू चेलीले मैलेजस्तो सजाय काट्नु नपरोस्,' उनले भनिन्, 'हानेको त मैले स्वीकारेकै छु, तर आफूलाई जोगाउन खोज्दा हानेको हो, ऊ कालगतिले मर्‍यो, म अपराधी ठहरिएँ।'

उनी निर्दोष हुन् वा कति हदसम्मकी अपराधी हुन्, त्यो अब सर्वोच्च अदालतले यही वर्षको माघ १० गतेसम्म लेखाजोखा गरिसक्नुपर्छ। पुनरावेदन अदालतले गरेकै फैसला सदर गरे पनि उनी माघ १० गते जेलबाट बाहिरिन्छन्।

अब जेलबाट निस्किएपछि उनलाई आफूले भोग्नुपर्ने समाजको पीर छ। 'अब कैदी बनेर मैले गाउँ जानुपर्छ,' उनले भनिन्, 'मैले त गल्ती नगरे पनि यसलाई स्वीकारिसकेँ तर यो घटनाले समाजमा मलाईमात्रै हैन मेरो परिवारलाई नै अपराधी देख्छ। बुवा आमाले कसरी सहनुहोला?'


Source : Nagarik News