Latest News

आज गाईजात्रा - ekantipur

Aug 3, 2012

काठमाडौं, श्रावण १९ - नेवार समुदायले मनाउने मृत्यु संस्कारमध्येको एक महत्त्वपूर्ण गाईजात्रा आज मनाइँदैछ । वर्षभरि दिवंगत भएका आफन्तले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै पार तरेर मोक्ष प्राप्त गरुन् भन्ने कामनासाथ पर्व मनाउने गरिन्छ ।

यस दिन बिहानैदेखि एकातिर गाईको अनुहार र अर्कोतर्फ गणेशको चित्र अंकित पेरुंगाको टोपी लगाई दिएर स-साना केटाहरूलाई रंगीविरंगी चोलो र जामा लगाई पटुकाको दुई टुप्पो भुइँमा लतार्न लगाई गाई बनाएर नगर परिक्रमा गराउने गर्छन् । कसैले त्यसरी गाई नबनाइकन जोगीको भेष धारण गराएर पनि परिक्रमा गराउने गर्छन् भने कसैले साँच्चिकै गाईलाई पूजा गरेर नगर परिक्रमा गराउने गर्छन् । नगर परिक्रमा गराउँदा साथमा सांस्कृतिक बाजागाजाहरू पनि साथै जाने गर्छन् ।

त्यसरी नगर परिक्रमा गर्नेहरूलाई दिवंगतका नाममा उनका परिवारले रोटी र फलफूल वितरण तथा दूध खुवाउने गर्छन् । गाईजात्रा परम्पराबारे ईस्वीको १७ औं शताब्दीका राजा प्रताप मल्लले उनका छोरा चक्रपतेन्द्र मल्लको असामयिक मृत्युले विरही भएकी उनकी आमालाई 'तिम्री छोरा मात्र होइन असंख्य प्रजाका छोराछोरी पनि मर्ने गरेका छन्' भनी देखाउन यस जात्राको परम्परा बसालेका हुन् भन्ने जनधारणा रहँदै आएको छ ।

तर त्यसभन्दा पहिले १४ औं शताब्दीमा लेखिएको गोपालराज वंशावलीमा 'साया (गाईजात्रा)' शब्द उल्लेख भएकाले प्रताप मल्लकालीनभन्दा पहिले नै यस जात्राको परम्परा चलिसकेको संस्कृतिविद्हरूको कथन पनि रहँदै आएको छ ।

Source : ekantipur