Latest News

महँगो गिलासमा सस्तो रक्सी - Nagarik News

Jul 29, 2012

दीपेन्द्र लामा, काठमाडौं, साउन १४- नाम सुन्दा बार चलाउने वा बारमा काम गर्ने केटीको कथा हो कि भन्ने लाग्छ, तर 'मायाज बार' हेरेपछि थाहा हुन्छ, यसको नाम त 'फाइट क्लब' पो हुनुपर्ने। फाइट क्लबमा हुने भिडन्त वरिपरि कथाले चक्कर काट्छ। फाइट क्लबको सेट र छायांकनमा निकै मिहेनत गरिएको छ। तर, त्यो पैसा र उर्जाको बर्बादी हो। लाखौं रूपैयाँ बाजी थापेर फाइट खेलाउने गिरोह नेपालमा छैन। यहाँ त मार्सल आर्टका धेरैजसो खेलाडीहरू रेस्टुरेन्टका बाउन्सर र पार्टीका 'लठैत'मा सीमित हुन्छन्। 'मायाज बार'मा जस्तो एउटा फाइट जितेर नोटको बिटा हात पार्ने अवसर नेपालमा कहाँ छ र?

यसमा मुख्य पात्र गजितको लक्ष्य आफ्नो आर्थिक संकटको समाधान गर्नु हो। कथा एकैचोटी गजितको आर्थिक अभावबाट सुरु गरिएको भए हुन्थ्यो। तर यसमा चाहिँ सुरुमा उसको आर्थिक अवस्था राम्रै देखाइन्छ। निशासँगका दुईचार रोमान्टिक दृश्यपछि अचानक स्त्रि्कनमा 'सात वर्षपछि' लेखिन्छ र गजित बैंकको ऋणमा डुबेको प्रसंग आउँछ। ऊ कसरी टाट पल्टियो? फिल्मसँग जवाफ नै छैन।

यो कारण नै नखुलेको समस्या समाधान गर्न ऊ तम्सिन्छ, त्यो पनि नेपालमा हुँदै नभएको 'फाइट क्लब'मा भर्ती भएर। नेपालको सबैभन्दा लोकप्रिय र पैसा कमाइने खेल फुटबल हो। एउटा फुटबलरले पाउने भन्दा बढी अर्थात् मासिक ४५ हजार रूपैयाँमा ऊ त्रिलोक (राजेश हमाल)को फाइट क्लबमा आवद्ध हुन्छ र रेफ्रीबिनाको 'रिङ'मा फाइट खेल्न थाल्छ।

मसला फिल्म पनि एउटा अलग्गै विधा हो। जुनसुकै विधाको फिल्म भए पनि त्यसको प्रस्तुति तर्कसंगत हुनुपर्छ। बलिउडका अधिकांश मसला फिल्मले दर्शकलाई कन्भिन्स गर्नुको कारण यसको विश्वसनीयता हो। 'मायाज बार'मा जस्तो समाजमै नभएको कुरा देखाइँदैन।

काठमाडौंका अग्लिरहेका भवन र फराकिलो भइरहेका सडकलाई सुन्दर ढंगमा उतार्न फिल्म सफल छ। तर, निर्देशक दिनेश डिसीले काठमाडौंको परिवर्तनलाई एउटा पाटोबाट मात्र बुझेका रहेछन्। भवन र सडकमात्र होइन फिल्म दर्शकका चाहना र स्वाद पनि अग्लो र फराकिलो भइसकेको छ। डिसीले यसलाई बुझेको देखिएन। बुझेनन् वा उनको क्षमता नै यति हो?

स्रष्टा वा फिल्म निर्देशक समाजको अगुवा हो। अरूले नसोचेको र नहेरेको 'संसार'को कल्पना उसले गर्नसक्नुपर्छ। उसको फिल्म हेरेर दर्शकले समाज बुझ्छ र धेरै कुरा सिक्छ। नेपाली फिल्मको समस्या भनेकै निर्देशकले यो गम्भीर पक्षमा ध्यान नदिनु हो। 'मायाज बार'ले फिल्म विधाको यो जिम्मेवारीको उपहास गर्छ।

नेपालमा ७०-८० लाख भनेको ठूलो रकम हो। 'मायाज बार'मा त एक करोड खर्च भएको चर्चा छ। दर्शकको बौद्धिकस्तर बढाउने फिल्ममा पैसा खर्च भएको भए सन्तोष मान्न सकिन्थ्यो। तर, 'मायाज बार' जस्ता फिल्ममा खर्चेको पैसा सम्भझिँदा सधैं थकथकी हुन्छ।

नेपाली फिल्ममा पात्रको गरिबी र सम्पन्नता देखाउन धेरैजसो निर्देशक असफल हुन्छन्। 'मायाज बार'मा देखाइएको पात्रको आर्थिक अभाव पनि अपरिपक्व लाग्छ। लाखौंको इन्टेरियर भएको दुई करोड जतिको घरका मालिक गजितले छोराको स्कुल फि तिर्न नसकेको पत्याउनै मुश्किल हुन्छ। बैंकले ऋणको किस्ता माग्न फोनमा ताकेता गरेको दृश्य नै काफी थियो। स्कुल फिको प्रसंग अनावश्यक र अपरिपक्व छ।

नेपाली फिल्मका फाइट डाइरेक्टरहरूले आफ्नो ज्ञानलाई अपडेट गर्नुपर्ने बेला भइसकेको 'मायाज बार'ले देखाउँछ। फाइटमा कुनै पनि पात्र जित्नु वा हार्नुको कारण र तर्क खोजिन्छ। यो फिल्मको फाइटमा समेत पावर नहुने किकबाट गुण्डा ढलेका दृश्य छन्।

निशानेबाज भनेर एउटा पुलिस (दिनेश डिसी) प्रकट हुन्छ। तर, उसले गुण्डालाई गोली चाहिँ एक बित्ता नजिकबाट हान्छ। जति धेरै गुण्डालाई कुट्न सक्यो दर्शकबाट त्यति नै तारिफ पाइन्छ भन्ने मानसिकता यस फिल्मका कलाकारहरूमा हावी रहेछ।
मोटे पात्र आरपी भट्टराईको कथासँग कुनै सम्बन्ध छैन। कथामा बुन्न सकेको भए रमाइलै हुन्थ्यो होला। दर्शकलाई हँसाउने भनेको कथाभित्रकै परिस्थितिबाट हो, फिलर पात्र थुपारेर होइन।

'घुँघुरु' गीतमा निशाको ठक्करले अक्वारियम फुटेर एक जोडी गोल्डफिस छटपट्याएको दृश्य विम्बात्मक छ। विगतका फिल्ममा 'हे..' भनेर गर्जने राजेश हमालले यसमा अग्लो भवनको छतमा उभिएर 'हेलो काठमाडौं' र 'गुडबाई काठमाडौं' भनेको केही नौलो लाग्छ।

करिश्मा र निशाको ग्ल्यामर, हिरोको मसल, महँगो क्यामेरा, ठूलो युनिट र लामो अवधिको सुटिङबाट भव्य फिल्म बनाउन खोजिएको छ। तर रचनात्मक स्क्रिप्ट र कलात्मक प्रस्तुतिको अनुपस्थितिले 'मायाज बार' महँगो गिलासमा सस्तो रक्सी साबित भएको छ।

Source : Nagarik News