Latest News

स्वयम्भूमा दर्शनार्थीको घुइँचो

Jul 21, 2012

काठमाडौं, श्रावण ६ - युवा, पाका र केटाकेटी सबै एकाबिहानै स्वयम्भूको उकालो चढ्दै छन् । एकनास गुँलाबाजा बजेको छ । स्वयम्भूको वरिपरि माने घुमाउँदै परिकर्मा गर्ने र महाचैत्यमै पुगेर दर्शन गर्नेहरू शुक्रबारदेखि बढेका छन् । पर्वको पहिलो दिन स्वयम्भूमा लागेको घुइँचोमा युवायुवतीको जमात अत्यधिक थियो । बाजा बजाउनेहरूमा युवतीहरूको समूह धेरै छ ।

दर्शनार्थीले स्वयम्भूका साथै शोभाभगवती, विजयश्वरी, केलटोलस्थित जनबहालमा पुगी त्यहाँ सेतो मत्स्येन्द्रनाथको दर्शन गरेका थिए । मत्स्येन्द्रनाथलाई बौद्धहरूले करुणमयको नाममा पूजा गर्छन् । गुँलापर्व प्रारम्भ भएदेख बौद्ध धर्मावलम्बीहरूले बौद्धविहार, करुणमयको साथ अरू बौद्धविहार र मन्दिरहरूमा पनि स्त्रोत्र पाठ र दाफा भजन गर्ने परम्परा छ ।

यसै दिनदेखि वर्षभरि दिवंगत भएका आफन्तको सुखावती भुवनमा बास परोस् भन्ने कामनाका गर्दै विशेषगरी नेवार समुदायमा बौद्ध धर्मावलम्बीहरूले श्रृंगभेरी अर्थात् सिंगबाजा फुकाउन लगाएर स्वयम्भू महाचैत्यको प्रदक्षिणा गराउने गर्दछन् । श्रद्धालु भक्तजनहरूले यसै दिनदेखि एक महिनासम्म व्रत बसी स्वयम्भू महाचैत्य वा भगवान् बुद्धको दर्श गरी मात्र पारायण गर्नेहरू पनि हुन्छन् ।

स्वयम्भू पुराणका अनुसार प्राचीनकालमा उपत्यका एउटा ठूलो दहको रूपमा रहेको समयमा विपस्वी बुद्ध आई कमलको फूल रोपेर गएका थिए । त्यही कमलको फूल फुलेपछि त्यसमाथि धर्मधातु ज्योतिको रूपमा स्वयम्भू उत्पत्ति भएका थिए । त्यहीं स्वयम्भू ज्योति उत्पत्ति भएको दर्श गर्न महाचीनबाट आफ्नी दुई पत्नी वरदा र मोक्षदाका साथ आएका महामञ्जुश्रीले चोभारको दायाँ-बायाँ रहेका पहाडमा एकापट्ट विरदा र अर्कोपट्ट मोक्षदालाई राखी आफ्नो खड्गले चोभारको पहाडलाई प्रहार गरी दहमा जम्मा भइरहेको सबै पानी बाहिर निकाली मञ्जुपत्तन नामको सहर बसालेका थिए । पछि वरदालाई राखेको पहाड फूःच्वः र मोक्षदालाई राखेको पहाड धिःलाच्वः नामले प्रख्यात भएका हुन् ।

यसै ज्योति रूप स्वयम्भूलाई महायान बौद्ध धर्मका गुरु शान्तिकराचार्य स्वयम्भू महाचैत्य निर्माण गरेदेखि सुरु भएको 'चैत्य सेवा' लाई नै 'गुँला धर्म' भनी मनाउँदै आएको लोक कथन छ । अर्काथरीका बौद्ध विद्वान्हरूका अनुसार भने स्वयम्भू महाचैत्यको निर्माणअघि नै चैत्य सेवा गर्ने चलन भइसकेको थियो । त्यही चैत्य सेवालाई अहिले 'गुँला धर्म' भनेका हुन् । भाषा वंशावलीका अनुसार राजा विक्रमदेवले बौद्ध धर्म अनुयायीहरूका लागि साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म गुँला धर्मको परम्परा चलाएका हुन् ।

Source : ekantipur