Latest News

एक घण्टामै समातिए चोरहरू - ekantipur

Jul 20, 2012

भक्तपुर, श्रावण ५ - घरेलु हतियार देखाएर लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । दधिकोट ४ स्थित एकान्त स्थानमा रहेको पूर्व सैनिक रबिराम रावतको घरमा बुधबार साझ चोरी भएको थियो ।

पक्राउ पर्नेमा ललितपुर लामाटार ९ घरभई च्यासल बस्ने पूर्णथिङ्ग तामाङ्ग, राजेन्द्र तामाङ्ग, कमल तामाङ्ग र  प्रेम तामाङ छन् । यस मध्ये पूर्णले चोरीको योजना बनाएको प्रहरीले जनाएको छ  । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कटुन्जेका सई कोमल खत्रीको नेतृत्वमा गएको प्रहरी टोलीले गुण्डु गाबिस आसपासबाट नियन्त्रणमा लिएको हो । चारै जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।

पीडितले प्रहरीलाई जानकारी गराएको एक घण्टा पछि लुटेरालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक नारायणसिंह खडकाले जानकारी दिए । 'आठ बजे चोरी भएछ, हामीलाई नौ बजे मात्रै खबर आयो,' उनले भने, 'हामीले १० बजे पक्राउ गर्न सफल भयौ ।'

चोरी भएको गाउँ दधिकोट बस स्टपबाट एक घण्टा पैदल जानु पर्छ । मोटरसाइकलमा गएपनि २० मिटेन हिडनु पर्ने घटना स्थल पुगेका दधिकोट प्रभाग प्रहरी प्रमुख निरिन श्रेष्ठले बताए ।

पक्राउ परेकाको साथबाट प्रहरीले चार थान मोवाईल, सुन जस्तो पहेलो देखिने औठी एक थान, कानमा लगाउने झम्का दुई थान, हातमा लगाउने बाला एक थान, नगद ३ सय ८५ रुपैया, कालो झोला एकथान, ठूलो खुकुरी एकथान, प्लाष्टिकको माक्स एकथान प्रहरीले बरामद गरेको छ । पत्रकार सम्मेलनमा प्रहरीले दुई लाख ५ हजार ८ सय रुपैया धनमाल चोरी भएको जनाएको छ । पिडित राउतले चोरी गर्ने समूहले नगद ३० हजार र खुत्रुकेको ५ हजार र २ तोलाको सुनको नेक्लेस पनि चोरी भएको जनाएको छ । प्रहरीले पीडितले दाबी गरेको रकम बरामद नभएको जनाएको छ । खाना खाइरहेको अवस्थामा प्लाष्टिकको माक्स लगाई हतियार देखाएर चोरी  गरेको राउतले बताए । रविराम र उनको श्रीमतीको दुबै हात बानेर लुटेको प्रहरीले जनाएको छ ।

चोरी भएको खबर पाएपछि परिसर मातहत सबै इकाईहरुबाट प्रहरी परिचालन गरी शंकास्पद स्थानहरुको सर्च गरेको खडकाले बताए । 'भाग्न सक्ने सम्भावित नाकाहरुमा एम्बुस तथा चेकप्वाइन्ट खडा गरी चेक गर्ने क्रममा चारै जना पक्राउ परेका हुन,'उनले भने । पक्राउ परेकालाई बिहीबार भक्तपुर जिल्ला अदालत चोरी मुद्धामा सात दिनका लागि म्याद थप गरिएको छ ।

Source : ekantipur