Latest News

सिंहदरबारभित्रै चोरको बिगबिगी - ekantipur

Jul 20, 2012

काठमाडौ, श्रावण ५ - सबभन्दा बढी सुरक्षा घेराभित्र रहेको र चारैतिर मान्छे आउजाउको नियमित रूपमा अनुगमन सीसीटीभीसमेत भएको मुलुकको केन्द्रीय सचिवालय सिंहदरबारभित्रै चोरीको बिगबिगी छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सचिवालयभित्र रहेका विभिन्न मन्त्रालय र निकाय गरी ४७ वटा कार्यालय शृंखलाबद्ध रूपमा भइरहेका चोरीले आहत छन् । कहिले मन्त्रालय र निकायका सामान चोरी हुन्छन् त, कहिले कर्मचारीका व्यक्तिगत सामान ।

पछिल्लोपटक चोरीको चपेटामा परेको छ कृषि विकास मन्त्रालय । मन्त्रालयको दोस्रो तलामा रहेको लैंगिक समता तथा वातावरण महाशाखाको बन्द कोठाभित्रबाट साँचो खोलेर कम्प्युटरको एक थान एलसीडी सोमबार राति चोरी भएको छ । सात महिनाअघि ल्यापटप चोरी भएको मन्त्रालयमा सोमबार राति दोस्रोपटक एलसीडी चोरी भएको हो । चोरले कम्प्युटरको सीपीयू भने त्यहीँ छाडेको छ ।

'सोमबार अपराह्न ५ बजेसम्म एलसीडी टेबुलमै थियो, भोलिपल्ट बिहान १० बजे आउँदा त एलसीडी चोरी भइसकेछ,' मन्त्रालयको प्रशासन महाशाखाका एक अधिकृतले कान्तिपुरसित भने, 'सारा मन्त्रालयमा खोज्दा पनि एलसीडी फेला नगरेपछि मन्त्रालयका अधिकारीले सिंहदरबारभित्रै रहेको सिंहदरबार सुरक्षा प्रहरी गणलाई चोर पत्ता लगाउन आग्रह गरेको छ ।' ती अधिकृतका अनुसार सात महिनाअघि मन्त्रालयबाट जापानी सहयोग नियोग (जाइका) को ल्यापटप चोरी भएको थियो । त्यसअघि पनि मन्त्रालयबाट ३ थान पानी तताउने इलेक्टि्रक जग चोरी भएका थिए ।

सिंहदरबार पुनर्निर्माण सचिवालयका एक अधिकारीअनुसार केन्द्रीय सचिवालयभित्र चोरको बिगबिगी नै छ । सबभन्दा बढी गमला, फूल, मिनरल वाटरका जार, बोत्तल, इलेक्टि्रक जग चोरी हुनु त सामान्य नै भइसकेको छ ।

गमला र फूल त भीआईपी (सचिव, सहसचिवसहितका गाडीवाल हाकिम) ले नै गाडीमा हालेर घरमा लाने गर्छन् । 'राम्रा फूल र फूलका गमला देख्नासाथ भीआईपीहरू आफ्ना सहयोगी लगाएर गाडीमा हाल्न लगाउँछन् र लैजान्छन्,' बगैंचेहरूको भनाइ उद्धृत गर्दै सचिवालयका एक अधिकारीले भने ।

सिंहदरबारको सुरक्षाका लागि सिंहदरबार सुरक्षा प्रहरी गण, नेपाली सेनाको नारायण दल गण र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका सहसचिवको संयोजकत्वमा सिंहदरबार सुरक्षा व्यवस्था समितिमात्र होइन चारवटै प्रवेशद्वार र विभिन्न रणनीतिक ठाउँमा गरी एघार ठाउँमा सीसीटीभी जडान गरिएका छन् । सिंहदरबार सुरक्षा प्रहरी गणले सीसीटीभीले चौबीसै घन्टा खिच्ने गतिविधिको अवलोकन गर्ने गर्छ । यति हुँदा पनि सिंहदरबारभित्र चोरीका घटना बढ्दै गएका छन् । सिंहदरबारभित्रका चोरीमा सरकारी कर्मचारीसमेत संलग्न हुने गरेको तर हाकिमले चोरलाई कारबाही नगरी बचाउने प्रवृत्तिका कारण चोरी बढ्दै गएको सरकारी अधिकारीहरू नै बताउँछन् । सिंहदरबारभित्र रहेको संसद्को साँचो लगाएर राखिएको पुरानो भवनभित्रबाट दुइटा प्रोजेक्टर चोरी भए, चोर्ने कर्मचारी पनि पत्ता लागे । तर, कारबाही नगरी बचाइयो । त्यसैगरी संसद् सचिवालय अगाडि रहेको माछापुच्छ्रे बैंकको एटीएम रहेको ठाउँको सीसीटीभी नै एक सैनिक जवानले सात महिनाअघि चोरी गरे । चोर्ने सैनिक जवानको पत्तो लाग्यो, तर आन्तरिक कारबाहीको नाममा जवानलाई जोगाइयो । तीन महिनाअघि प्रधानमन्त्री कार्यालयका उपसचिव नारायण तिमल्सिनालाई कार्यालय परिसरमा रहेको मोटरसाइकलको टायर र विभिन्न पार्टपुर्जा चोरी गरेर लैजाँदालैजाँदै सिंहदरबारभित्रकै प्रहरीले पक्राउ गरे तर उनलाई कारबाही नगरी उनलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइयो तर उनीमाथि कारबाही भएन । 'चोर्ने व्यक्तिलाई कुनै कारबाही नगरी बचाउने प्रवृत्तिका कारण चोरीका घटना बढ्दै गएको हो,' एक अधिकारीले भने । सिंहदरबारभित्र भवनलगायतका निर्माणका काममा संलग्न ठेकेदारका निर्माण सामग्री, फर्मालगायतका सामानसमेत चोरी हुने गरेका छन् ।

सिंहदरबार सुरक्षा प्रहरी गणका प्रमुख प्रज्ज्वल महर्जनका अनुसार, सिंहदरबारभित्रका कार्यालयबाट औसत चार महिनाको अन्तरमा एउटा/दुइटा चोरी भएको उजुरी आउने गरेको बताउँछन् । 'प्रायः विद्युतीय उपकरणलगायतका सामान रातको समयमा चोरी हुन्छन् । गणमा यसअघि अर्को ल्यापटप हराएको उजुरी परेको थियो,' महर्जनले भने । सिंहदरबारभित्र प्रवेश गर्दा झोला र गाडी चेक गर्ने गरिन्छ तर र्फकंदा झोला र गाडीभित्र र डिक्कीको जाँच गर्ने गरिँदैन । 'यही कारण चोरीका घटना भइरहेका हुन्,' एक अधिकारीले भने । हाल दैनिक साढे चार सय सर्वसाधारण आगन्तुक पास लिई सिंहदरबारभित्र प्रवेश गर्छन् भने ४७ वटा कार्यालयमा हजारौं कर्मचारी काम गर्छन् । सिंहदरबारभित्र हुने गरेका चोरी नियन्त्रण गर्न सुरक्षा व्यवस्थालाई अझ आधुनिकीकरण र व्यवस्थित गर्नुपर्ने आवश्यकता बढेको सचिवालयका अधिकारी बताउँछन् ।

Source : ekantipur